चाँगुनारायण नगरपालिका वडा नं. ७ भक्तपुर अर्थात बागेश्वरीको पगरीटोलमा वि सं २०१३ सालमा जन्मनु भएका पुरुषोत्तम लामिछाने विद्यार्थीकाल देखि नै नेपाली कांग्रेसको राजनीतिमा होमिनु भयो । वि सं २०३२ सालमा ने वि संघमा लाग्नु भएका नेता लामिछानेले थुप्रै संघर्ष गर्दै २४ वर्ष शिक्षक पेशामा विताउनु भयो । पार्टीमा महासमिति सदस्यसमेत भैसक्नु भएका लामिछानेले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएतापनि विजयी भने हुन नसकेको बताउनु हुन्छ । विगतको नेपाली कांग्रेस र अहिलेको कांग्रेसमा धेरै फरक भएको र पछिल्लो समय पार्टीभित्र डनबाद र धनबाद मौलाएकोमा उहाँको असन्तुष्टि रहेको छ । प्रस्तुत छ नेता लामिछानेसँग हाम्रो समाजले गरेको कुराकानीको अंशः–निर्वाचनलाई राजनीतिज्ञहरुले अवसरको रुपमा लिन्छन तर तपाईले त उम्मेद्वारी नै दावी गर्नु भएन नि ?
निश्चय पनि यो केही गर्ने अवसर नै हो तर पछिल्लो समय नेपाली कांग्रेसमा विचलन देखिएको छ । पार्टीको विचार लाईन क्लियर भएन । पार्टीको विचार एकातिर छ विचार नै नमिल्नेसँग साँठगाँठ गरिरहेका छन् । विपिले भन्नुभएको थियो विचार र सिद्धान्तमा सम्झौता हुँदैन तर पार्टीमा विकृति आउन लाग्यो, विचलित हुन लाग्यो । हामी त जनताको सेवक हौं, सेवा गर्न जाने हो । तर पछिल्लो समय राजनीतिज्ञ भनेको फटाह, भ्रष्टाचारी हुन भन्ने जनतामा भ्रम पर्न गएको छ । त्यो विकृति भित्र छिर्दा मलाई पनि जनताले त्यही नजरले हेर्लान भनेर मैले उम्मेद्वारी दिने चाहना गरिन ।
–पछिल्लो समय पार्टीमा विभिन्न खाले व्यक्तिहरुको प्रवेश भएको र उनीहरुकै बढी हालिमुहाली देखिन्छ । तपाईलाई के लाग्छ पार्टीले निष्ठावान कार्यकर्तालाई न्यायोचित व्यवहार गरेको छ ?
छैन, पटक्कै छैन । विचार र सिद्धान्तबाट पार्टी बिचलित भईरहेको छ । विपिको बिचारले, विपिले प्रतिपादन गर्नुभएको कांगे्रस विचारले चल्थ्यो । पहिलो पुस्ताका नेताहरु विचारले चल्थे, अहिले निष्ठा नि हरायो, बिचार पनि खत्तम भयो र पार्टीभित्र विकृति भयो । निष्ठा र विचारबाट पार्टी अलग भएको हुनाले अहिले निष्ठावान कार्यकर्ताहरुलाई पन्छाउने, पाखा लगाउने काम भैरहेको छ । जो धनबाद, डनबाद छ तिनीहरु पार्टीमा हावी भैसके । म जस्ता र मभन्दा सिनियर निष्ठावान कार्यकर्ताहरु निरुत्साहित भएका छन् । पार्टीले वास्ता गरेको छैन । पञ्चायतसँग जो लडेर, भिडेर आए तिनीहरुको वास्ता गरिएको छैन । विचार विहिन भएकाहरु हावी भएकोले व्यवहार मिल्दैन ।

–निर्वाचनको बहानामा जुन गठबन्धन गरिएको छ के त्यो उचित जस्तो लाग्छ ?
यो गठनबन्धनले पार्टीलाई झन विचलित बनाएको छ । यो गठबन्धन मिल्दैन । नेपाली कांग्रेस राष्ट्रियता, समाजबाद र प्रजातन्त्रलाई अंगिकार गर्ने पार्टी हो । कम्युुनिष्टहरुसंग गठबन्धन गरेर जाँदा एउटा उत्तर र अर्को पश्चिम विचार भएकोसँग मिलेर जाँदा पार्टी कमजोर हुन्छ । त्यसैले यसलाई स्विकार गर्न सकिदैन ।
–पूरै फरक विचार भएका कम्युनिष्टहरुसँग साँठगाँठ गर्दा कार्यकर्तालाई कसरी बुझाउन सकिएला ?
हिजोका दिनमा फरक विचार राख्दा, कांग्रेसलाई समर्थन गर्दा ज्यान गुमाउन पुगे । दशबर्ष जनयुद्धका नाममा कांग्रेस भएकै कारण मर्नु प-यो । कतिको सिन्दुर पुछियो । कतिका साना साना केटाकेटी टुहुरा भए । स्कुल पढने विद्यार्थी देखि शिक्षकसम्म कांग्रेसलाई समर्थन गरेकै कारण हत्या गरियो । त्यस्तो अवस्थामा कांग्रेस गाउँ पस्न पाएन । आफ्नो थाँतथलो भन्न पाएन । गाउँबाट लखेटिनु प¥यो । आज तिनैलाई भोट हाल भन्दा कांग्रेस कसरी बलियो हुन्छ ? बिचारको राजनीति भन्दा पदको राजनीति हावी भएको हुनाले यो गठबन्धन गरिएको छ । यसले कांग्रेस कमजोर हुँदै जान्छ ।
–अहिलेको कांग्रेसले विपिको सिद्धान्तलाई मानेको छ त ?
देखावटी र बोलिचालीमा मात्र छ, व्यवहारमा छैन । विपिको तस्वीरलाई माल्यार्पण गरिन्छ तर व्यवहारमा एकदम भिन्नता छ ।
–अहिलेको कांग्रेसमा के समस्या देख्नु भएको छ ?
यदि नेपाली कांग्रेसलाई जनताको नजरमा असल चरित्रबान बनाउने होे भने काँग्रेसले धेरै कुरा सुधार गर्दै जानु पर्छ । जस्तै विचारमा विचलित हुनु हुँदैन । सिद्धान्तलाई अंगाल्न छाडनु भएन । नेता देखि कार्यकर्तासम्मले पार्टीप्रति गरेको योगदान र त्यागको उचित सम्मान हुनु प¥यो, त्यो भएको पाइदैन । सक्षम र योग्यलाई पाखा लगाउने काम भएको छ त्यस्तो हुनु भएन ।
–धर्म निरपेक्षताका बारेमा के भन्नु हुन्छ ?
काग्रेसको चारताराको अर्थ पहिलो धार्मिक स्वतन्त्रता हो, त्यसपछि प्रजातन्त्र, समाजबाद र राष्ट्रियता हो । धार्मिक स्वतन्त्रतालाई अहिले धर्म निरपेक्षता बनाइएको छ । यदि त्यसो हो भने हाम्रो विधानमा लेखिएका धार्मिक स्वतन्त्रताका कुरालाई परिवर्तन गर्ने हो भने झण्डामा भएको एउटा तारा पनि हटाउनु प¥यो । होइन भने कांग्रेस अहिले विचारले विचलित छ । काग्रेस विचार र सिद्धान्तमा बदलिनु हुँदैन । विपिले दिएको विचार र सिद्धान्तलाई अंगिकार गर्दै जानु पर्दछ ।
–केन्द्रदेखि गाउँसम्म विगतमा नेपाली कांग्रेसमा जुन उत्साह थियो, संगठन विस्तारमा पनि सक्रियता थियो, अहिले के देख्नु भएको छ ?
हिजोका दिनमा संगठन विस्तार गर्न क्षेत्र छ्ुुट्याएर जिम्मेवारी दिइन्थ्यो । जनताको घर दैलोमा पुगेर कांग्रेसको निति सिद्धान्तको बारेमा बुझाइन्थ्यो । कांग्रेसले के गर्दैछ भनेर बुझाइन्थ्यो । काग्रेसका कार्यकर्ता निष्ठाबान थिए । अहिले फरक छ । अहिले संगठन विस्तारको नाममा कर्मकाण्ड मात्र गरिन्छ । व्यवहारमा पटकै छैन । त्यसैले संगठन कमजोर छ । जनतालाई बुझाउन सकिएको छैन । जनताको सुख दुखमा कांग्रेस सहभागी हुनु पर्छ । नेताको चाकडीमा होइन जनताको घर दैलोमा जानुपर्छ । जनतको घर दैलोमा भन्दा नेताको दैलो चाहर्ने बढेका छन् । अव माथिका नेताले बुझ्नुपर्छ काग्रेसलाई बलियो पार्टी बनाउने हो भने जनताले अझै पनि विस्वास गर्छन यो प्रजातान्त्रिक पार्टी हो भनेर । पार्टीमा आएको विचलनले गर्दा जनता अत्यन्त चिन्तित छन् । कार्यकर्ता चिन्तित छन् । काग्रेस आप्mनो सिद्धान्त र विचारबाट विचलित नभईकन इमान्दार र सक्षम कार्यकर्तालाई समान गर्दै प्रतिनिधिमुलक संस्थामा उनीहरुको प्रतिनिधित्व गर्दै अगाडि जानु पर्र्छ । तव मात्र काग्रेस बलियो हुन्छ भन्ने मलाई लाग्छ ।
–नेपाली कांग्रेसमा जब प्रतिनिधित्व गर्ने अवसर आउँछ तव जनताले रुचाएका भन्दा पनि आशिर्वाद पाएका बढी हावी हुन्छन भन्ने आरोप लाग्ने गरेको छ , के भन्नुहुन्छ ?
सही कुरा हो । यहाँ जनताको सेवा गर्ने भन्दा नेताको सेवमा लाग्ने गरेको देखिन्छ । जनताको घर दैलामा जाने भन्दा नेताको ढोकामा गएर चाकडी बजाएर पहुँचको आधारमा टिकट ल्याउने र नेताको परिवारलाई खुशी बनाउने संस्कार बढेको छ । विगतमा पहिलो पुस्ताका नेताहरु स्थानीय तहमा त्यहाँका सिनियर नेतासँग सम्पर्क गरेर स्थानीय तहमा जनताको नजरमा को कार्यकर्ता राम्रो छ, कसले जनताको भावना जित्न सक्छ, को तल्लो स्तरसम्म भिजेको छ, तिनीहरुको मूल्यांकनको आधारमा टिकट दिइन्थो । अहिले ठिक उल्टो भएको छ । अहिले को नेताको चाकडी गर्छ, को नेताहरुको घर दैलोमा पुग्छ, कसले नेताहरुलाई खुशी पार्न सक्छ, त्यसको आधारमा टिकट दिइन्छ । जनताको भावना र चाहनालाई हेरिदैन । यसले गर्दा कांगे्रसलाई हानी पुगेको छ । त्यो कुरा कांग्रेसले बुझनु पर्छ ।
–अन्तमा केही भन्न चाहनुहुन्छ ?
नेपाली कांग्रेस नेपाली जनताको आशा, भरोसाको पार्टी हो । जव जव देशमा संकट आउँछ यसले मात्र देशलाई निकास दिन सकेको छ । अरु पार्टीले जति नै ठूला क्रान्तिकारी कुरा गरे पनि विगतमा भएका हरेक परिवर्तन नेपाली कांगे्रसको सहभगिता विना सम्भव नै भएन । हाम्रो स्वार्थ भनेको यो मुलुकमा कांग्रेसले शासन गर्र्नुपर्छ भन्ने हो । कांग्रेसविना यो मुलुकमा कोही प्रजातन्त्र जोगाउनेवाला छैन । काग्रेसले मात्र मुलुकलाई निकास दिन सक्छ । कम्युनिष्टहरुसंगको सहकार्यले देशमा कानुनी शासन हराउँदै गइरहेको छ । विकृति बिसंगति बढदै गईरहेको छ । यसबाट मुक्ती पाउन पनि कांग्रेसले सुधार गर्दै जाओस हाम्रो यहि सदिच्छा छ । हामीले हाम्रो जीवन कांगे्रसलाई दियौँ । निस्वार्थ र सहि मूल्यांकन कांग्रेसले गरोस् । कागे्रस ठिक बाटोमा जाओस्, यसैमा सबै नेपालीको हित हुनेछ । जयनेपाल ।