भक्तपुर । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन बैशाख १२ गते तोकिएको छ । त्यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा कार्यालय स्थापाना गरी निर्वाचन अधिकृत तोक्ने काम समेत भएको निर्वाचन कार्यालयले जनाएको छ । यता राजनितिक दलहरुले भने कतिपय ठाउँमा आफ्ना उम्मेद्वार चयन गर्न सकेका छैनन् ।
भक्तपुरमा सक्रिय रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेमकिपा, राप्रपा, नेकपा माओवादीलगायतका दलहरुले केही ठाउँमा बाहेक अधिकांश ठाउँमा आफ्ना उम्मेद्वार चयन गर्न सकेका छैन । खासगरी भक्तपुरका तिनवटा नगरपालिकाका लागि मेयर तथा उपमेयरमा दावी गर्नेको संख्या ठूलो छ । भक्तपुर नगरपालिकामा विगत देखि नै नेपाल मजदुर किसान पार्टीले प्रभुत्व जमाउँदै आएकोले अरु दलहरुले खासै प्रतिस्पर्धा गरेको देखिदैन भने अन्य नगरपालिकाहरुमा चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमी नगरपालिकामा भने ठूलो संख्याले मेयर, उपमेयर र वडा अध्यक्षमा दावी गरेका छन् । धेरै जना बिच प्रतिस्पर्धा हुन थालेपछि केही उम्मेद्वार जिल्लाबाट आफ्नो केही नलाग्ने देखेपछि केन्द्रीय नेताको ढोका ढोकामा पुग्ने गरेको राजनीतिका जानकारहरु बताउँछन् । विगतमा पनि जिल्लाबाट उम्मेद्वार छनौट गर्न नसकेपछी केन्द्रीय नेताहरुले हस्तक्षेप गरी आफू निकटलाई टिकट दिने गरेको नमिठो अनुभव सुनाउँदै एक नेताले भने ‘जनाधार नभएका, जनताले नचिनेका, तर पैसावालहरुले नेता चिनेकै भरमा टिकट ल्याउने गरे पछि कसरी चुनाव जितिन्छ ?’
यस्तो समस्या देशभर रहेको र भक्तपुर पनि यो रोगबाट अछुतो नरहेको राजनीतिका जानकारहरु बताउँछन् । नेपाली कांग्रेस भक्तपुरका नेता पुरुषोत्तम लामिछाने भन्नुहुन्छ ‘नेपाली कांग्रेस विपिको निति र सिद्धान्तले होइन धनबाद र डनबादले चलेको छ ।’ कांग्रेसले आफ्नो निति र सिद्धान्त विपरितका विचार बोकेका नेकपा माओवादी, नेकपा समाजवादी मधेसवादी जस्ता दलहरुसँग सहकार्य गर्न लागेपछि सर्बत्र यस बारेमा असन्तुष्टि बढेको छ । केन्द्रमा जे जस्तो गठबन्धन गरे पनि स्थानीय तहमा आफूखुशी उम्मेद्वारी दिनुपर्ने उनीहरुको तर्क छ ।
देशमा संघीयता जारी भई स्थानीय निर्वाचन पश्चात खासगरी पालिका प्रमुखहरुले गरेको रजगज पछि मेयर र अध्यक्ष पद धेरैको आकर्षण बनेको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमी नगरपालिकाका लागि नेपाली कांग्रेसका ४७ जनाले मेयर र उपमेयरमा आकांक्षा देखाएका छन् । तिनैवटा नगरपालिकाका लागि २८ जना प्रमुख र १९ जना उपप्रमुखले उम्मेद्वार बन्ने इच्छा व्यक्त गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट मध्यपुरथिमी नगरपालिकाको प्रमुखको लागि उम्मेद्वारी दावी गर्नेहरुमा अष्टकुमार कवे, केदार खडका, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई, मदनकृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर र रामकाजी चक्रधर रहेका छन् । त्यसैगरी सोही नगरको उपप्रमुखको दावेदारमा अन्जना मधिकर्मी, प्रमिला आचार्य, कमला कर्माचार्य, उर्मिला वन र लक्ष्मीशोभा प्रजापति रहेका छन् ।
यता चाँगुनारायण नगरपालिकाको लागि नेपाली कांगे्रसको तर्फबाट प्रमुख र उपप्रमुखगरी १६ जनाले आकांक्षा देखाएका छन् । नगर प्रमुखको लागि शिवहरि के सी, प्रविन वन, जीवन खत्री, जयेन्द्र खडका, राधा कार्की वानियाँ (सरु), अच्युत अधिकारी, यादव अधिकारी, पुष्कर खत्री र सुरेश श्रेष्ठले दावी गरेका छन् । त्यसैगरी उपप्रमुखमा सभद्रा काफ्ले, ुसावित्री तिमिल्सिना (लामिछाने), संगिता फुयाल आचार्य, रविता कार्की, राजेश खडका, रुपादेवी थापा र संगिता दुलाल (नेपाल)ले दावी गरेका छन् ।
उता सूर्यविनायक नगरपालिकाका लागि नेपाली कांगे्रसको तर्फबाट १० प्रमुख र ७ जना उपप्रमुखले उम्मेद्वार हुने चाहना व्यक्त गरेका छन् । प्रमुखमा नारायणभक्त खायमली, निशान ढुंगेल, विष्णुराज कार्की, उद्धव सिलवाल, सुशिल बस्नेत, राजनकाजी त्वाती, प्रेमबहादुर खडका, रवी राणा, भेषबहादुर कार्की र राजन बके रहेका छन् । त्यसैगरी उप्रमुखमा दावी गर्नेहरुमा मिनाकुमारी ढकाल, रिता खत्री कार्की, संगिता थापा, ललिता धिताल, सुनिता खत्री, कान्छीमायाँ श्रेष्ठ र पुनम केसी रहेका छन् । यो समाचार तयार गर्दासम्म नेपाली कांग्रेसको तर्फबाट भक्तपुर नगरपालिकाको लागि कुनै उम्मेद्वारले दावी गरेका छैनन् ।
अर्को दल नेकपा एमालेको तर्फबाट पनि तिनवटै नगर प्रमुख र उपप्रमुखको लागि ४१ जनाले दावी गरेका छन् । सूर्यविनायक नगरपालिकाको लागि प्रमुखको दावी गर्नेहरुमा बासुदेव थापा, किरण थापा, राजेन्द्र राजथला, सन्तोष ढुंगेल र राजकुमार सिलवाल छन भने उपप्रमुखमा जुना वस्नेत, तारा सापकोटा, अम्विका भण्डारी, सरिता तिमिल्सिना, तारा खडका बस्नेत, ममिता राउत, लक्ष्मी कार्की अधिकारी र विणा बस्नेत रहेका छन् ।
मध्यपुरथिमी नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट प्रमुखमा दावी गर्नेहरुमा मदनसुन्दर श्रेष्ठ, बचन देउजा, भाष्कर प्रधानाङ्ग, चन्दनकृष्ण श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ, तारामान जोशी र राष्ट्र शम्शेर थापा रहेका छन् भने उपप्रमुखका दावेदारमा उत्तरा नेपाल, सकुन्तला श्रेष्ठ, विन्दु प्रजापति र सुचित्रा श्रेष्ठ रहेका छन् ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिकाको लागि प्रमुखमा नवराज गेलाल, विना बास्तोला, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, प्रेमकुमार श्रेष्ठ, मोहनवीर श्रेष्ठ, निरन्जन बजगाई, गिता नेपाल र दामोदर दंगालले दावी गरेका छन् भने उपप्रमुखमा शिवराम तिमिल्सिना, सरु थापा, सावित्री थापा, नारायणी फुयाल, परासर सापकोटा र मन्दरा मिश्रले दावी गरेका दबाब साप्ताहिकका सम्पादक अमर भुजुले हाम्रो समाजलाई जानकारी दिनुभएको छ । अन्य दलमा उम्मेदवारी छान्ने काम नभएकोले जानकारी गराउन सकिएन ।
चाँगुनारायण नगरपालिकामा ९ वडा मध्ये नेपाली कांग्रेसको तर्फबाट पाँच वडामा वडा अध्यक्षको लागि सर्वसम्मत भएको र वाँकी ४ वडामा सहमति गर्न छलफल भैरहेको पार्टी स्रोतले जानकारी दिएको छ । सर्वसम्मत हुनेहरुमा २ नं. वडामा सोम प्रधान, ५ नं. वडामा मनोजकुमार थापा, ६ नं. वडामा विरमान तामाङ, ८ नं. वडामा जनक खत्री र ९ नं. वडामा राजकुमार खडका रहेका छन् ।