भक्तपुर । “सम्पूर्ण पूर्व सुरक्षाकर्मी एक हौं” भन्ने नाराका साथ देशव्यापी रुपमा संगठन विस्तार गर्ने अभियान अन्तर्गत गत शनिबार पूर्व सुरक्षाकर्र्मी परिषद नेपालको भक्तपुर नगर कार्य समिति गठन भएको छ । स्थानीय सृजनानगरमा आयोजित भेलाले कृष्णप्रसाद दाहालको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको हो
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख पुष्पाखर गौतमले भेलालाई सम्बोधन गर्दै देशको रक्षा गर्नको लागि पनि पूर्व सुरक्षाकर्मी एक हुनु परेको बताउनु भयो । जीवनको उर्जाशिल समय देश र जनताको रक्षाका लागि सुम्पेका हामीले अवकाश पाएपछि पनि त्यो जिम्मेवारी हाम्रो काँधमा आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो “हामीले देश चलाउने जिम्मेवारी राजनीतिक दलहरुलाई दिएका हौँ तर उनीहरुले जिम्मेवारी पूरा गर्नु भन्दा पनि बदनाम बढी भएकाले हामी फेरि जागरुक हुन परेको छ ।”
आगामी निर्वाचनमा देश चलाउने जिम्मेवारी कसलाई दिने ? को बाट राष्ट्रघाती सम्झौता हुँदैन ? कसले विदेशीको भन्दा नेपाली जनताको हितमा काम गर्छ ? त्यस्ता व्यक्तिको चयन गर्न सवैलाई सचेत गराउने जिम्मेवारी हाम्रो काँधमा आएको केन्द्रीय उपाध्यक्ष गौतमको धारणा थियो । उहाँले भन्नुभयो “तँ सेनाको, तँ प्रहरीको, तँ विदेशको भनेर हामीलाई आपसमा विभाजन गर्ने कार्य भएको छ, यसलाई समयमै बुझ्ने हो भने ति स्वार्थी तत्वहरु स्वत परास्त हुनेछन र हाम्रो संगठन मजबुत हुनेछ ।”
कार्यक्रमका विशेष अतिथि नेपाली सेनाका पूर्व सेनानी सिताराम दाहालले हामी एक हुन सके सामाजिक कार्य देखि समाजका विकृति हटाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अर्का अथिति पूर्र्व सूरक्षाकर्मी परिषद नेपालका केन्द्रीय महासचिव पुष्पराज सुवेदीले सरकारले गरेका गलत कार्यको परिषदले ज्ञापन पत्र बुझाएर तथा प्रेस विज्ञप्ति निकालेर र सडकमै उत्रिएर विरोध गरेको बताउनु भयो । उहाँले पूर्व सुरक्षाकर्मीको हक हितको लागि बहुउद्देश्यीय सहकारी खोलेर सेवा दिन सुरु गरिएको पनि जानकारी दिनुभयो ।
परिषदका केन्द्रीय सदस्य एवं सह प्रवक्ता मणिराम लामिछानेले आफूलाई नेता भन्न रुचाउने तल्लो स्तरका व्यक्तिहरुको पनि उच्च आर्थिक हैसियत भएको उदाहरण दिँदै नेताहरुको तलव कति हुन्छ ? भनेर प्रश्न गर्नु भयो । उहाँले हाल व्रिटिस सेना, भारतीय सेना र सिंगापुर प्रहरी तथा नेपालमा सुरक्षा निकायबाट अवकास भई पेन्सन खानेको सँख्या करिव ६ लाख भएको बताउँदै सवैजना जागरुक हुने हो भने देशमा ठूलै परिवर्तन ल्याउन सकिने विचार व्यक्त गर्नु भयो । आउँदो संसदीय निर्वाचनमा सम्पूर्ण देशभक्त नेपालीले राष्ट्रवादी नेता छानेर भोट हाल्न पनि उहाँले आव्हान गर्नुभयो । कृष्ण प्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत चरित्र खडकाले गर्नु भएको थियो ।
रामकृष्ण ढुंगेलको संयोजकत्वमा बनेको निर्वाचन समितिले अध्यक्षमा कृष्ण प्रसाद दाहाललाई चयन गरेको छ भने उपाध्यक्षमा ध्यान प्रसाद ढकाल रहनु भएको छ । त्यसैगरी सचिवमा चरित्र खडका तथा कोषाध्यक्षमा सुदर्शन पुरी छानिएका छन् । अन्य सदस्यहरुमा कर्ण बहादुर मगर, न्हुछे कुमार श्रेष्ठलगायत रहेका छन् । निर्वाचन पश्चात बिजयी अध्यक्ष दाहालले भक्तपुर नगरपालिका भित्रका दशवटै वडामा छिट्टै परिषदको वडा कार्य समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।