
भक्तपुर । नेतृत्वको निर्देशन विपरित नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटले राष्ट्रिय प्रजातन्त्र पार्टी नगरकोटसँग चुनावी गठबन्धन गरेको छ । गत प्रादेशिक निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्थानीय निर्वाचनमा सघाउने कुरा सहमति भएको सार्वजनिक भएपछि नगरकोट कांग्रेसका सभापति वीरमान तामाङले राप्रपासँग गठबन्धन गरेर जाने निर्णय गरेको बताएका छन् । गत बुधवार विहान राप्रपा र नेपाली कांग्रेसको संयुक्त भेला नगरकोटको कालिका मन्दिर परिसरमा गरी विगतको नेतृत्वले गरेको प्रतिवद्धता आफूहरुले पुरा गर्न चुनावी गठवन्धन गरेको सभापति तामाङले बताए । उनले गठबन्धन गर्दा पैसा खाएको आरोप आपूmमाथि लगाएको भन्दै कालिका मातालाई साक्षी राखि कुनै रकम नलिएको भनी कसम खाए । भेलामा चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटका अध्यक्षका उम्मेद्वार एबं राप्रपाका चाँगु नगर परिषदका अध्यक्ष धनबहादुर लामाले हिजोका दिनमा माथिल्लो निकायवीच जे जस्तो सम्झौता भएकता पनि नेपाली कांगे्रस नगरकोटले राप्रपासँग सहमति र सहकार्य गरेर जाने निर्णय गरेकोमा आभार प्रकट गरे । गाउँ विकास गर्ने सवैको दायित्व भएको र यो कार्यमा नेपाली कांग्रेस नगरकोटले साथ दिने निर्णय गरेबाट आफूलाई विकास निर्माणमा अझै हौसला मिलेको लामाको धारणा थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य धनबहादुर थिङ, प्रदेश समिति उपसभापति रमेश लामिछाने, त्यसैगरी राप्रपाका नगर तथा वडा स्तरीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो । आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नगरकोटबाट अध्यक्षसहित राप्रप्रबाट तीन र नेपाली कांग्रेसबाट दुई सदस्यले संयुक्त प्यानल बनाई उम्मेद्वारी दिएका छन् ।
