
भक्तपुर । पूर्व सुरक्षाकर्मी परिषद नेपालले नेपाल सरकारले अमेरिकासँग गर्न लागेको भनिएकोे एसपीपी सम्झौता गरेमा त्यसको प्रतिकारमा उत्रन सक्ने चतावनी दिएको छ । गत विहीबार रिपोर्टर्स क्लवको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परिषदले उक्त चेतावनी दिएको हो ।
पूर्व सुरक्षाकर्मी परिषदको समर्थनमा उपस्थित भएका नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री एवं नेकपा एमालेका नेता भीम रावलले परराष्ट्र मन्त्रीले एसपीपीका बारेमा कुनै प्रकृया अगाडि नबढेको भनेर सरकारले नेपाली जनतालाई ढाँटेको बताए । उनले भने, प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा गर्न लागेको अमेरिकाको भ्रमणमा हस्ताक्षर गर्न तयार गरिएको एसपीपी सम्झौता हुँदै होइन भनेर जनतालाई ढाँट्नु सरासर बेवकुफी भएको बताए । नेपाली सेनासँग हिमाली जिल्लामा संयुक्त अभ्यास मात्र होइन क्याम्पसमेत खडा गर्ने र त्यसलाई चाहिने सम्पूर्ण सामान भन्सार छुटमा ल्याउन लागिएको तयारी सम्झौताले छिमेकी देशलाई चिढाउने र नेपालको हित नगर्ने उनको भनाई थियो ।
नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले नेपाली सेनाबाट देशका विरुद्ध कहिलै गलत कार्य हुनै नसक्ने जिकिर गरे । उनले भने, तत्कालिन प्रधान सेनापतिबाट सन २०१७ मा नै एसपीपी सम्झौताको लागि पहल भएको र यसले २०१९ मा नै स्विकृति पाईसकेको भन्नेमा विस्वास छैन । अमेरिकी राजदूतावासले विगतमा भएका एसपीपी सम्वन्धी पत्राचारका पत्रहरु एकपछि अर्को सार्वजनिक गर्न थालेपछि सरकार चलाउने नालायकहरुले गोप्यरुपमा गरेका अपराध सार्वजनिक हुन थालेको उनको आरोप थियो । नेताहरुले देशलाई अफ्गानिस्तान जस्तो बनाउन लागेको आरोप लगाउँदै डा बस्न्यातले त्यसो गरेमा पूर्व सुरक्षाकर्मी चुप लागेर नबस्ने चेतावनी दिए ।
पूर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रीय अध्यक्ष कोमल बहादुर राउतले एसपीपीका विरुद्ध परिषदको विज्ञप्ती पढेर सुनाएका थिए । उनले विगतमा पनि सरकारले गरेका गलत कार्यको विरोध गर्दै आएको परिषदले अवका दिनमा पनि यस्तै गर्र्दै जाने हो भने त्यसको प्रतिकारमा परिषद उत्रन बाध्य हुने धारणा व्यक्त गरे । कार्यक्रममा परिषदका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।